रघुगंगा गाउँपालिका ३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको टनेलको ‘ब्रेकथ्रु’ भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट आयोजनाको ६ हजार २ सय ७० मिटर लामो टनेलको मंगलबार ब्रेकथ्रु भएको हो ।
टनेलको मुहानतर्फको अडिट १ र २ को बीचमा पर्ने अँधेरीखोला क्षेत्रमा मंगलबार आयोजनाका प्रबन्ध निर्देशक गणेश केसी र स्थानीय रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले एकसाथ स्वीच थिचेर विस्फोट गरी टनेलको अन्तिम ब्रेकथ्रु गरेका थिए ।
‘टनेललाई विभिन्न प्याकेज बनाई फरक–फरक अडिटबाट खन्ने काम गरिएकोमा यो अन्तिम टनेल ब्रेकथ्रु गरेका हौं,’ रघुगंगा हाईड्रो लिमिटेडका प्रबन्ध निर्देशक केसीले भने, ‘आयोजनाले एउटा महत्वपूर्ण काम सम्पन्न गरेको थियो । भूक्षयग्रस्त भूगोल, बग्ने प्रकृतिको माटो भएको भूगोलमा पनि टनेल सफलतापूर्वक निर्माण सफल भएका हौं,’ निर्देशक केसीले थपे, ‘टनेल ब्रेकथ्रु त गर्यौं तर अब ६ किमि लामो टनेलमा लाईनिङ गर्न मेट्रियलको समस्या छ । मेट्रियल ल्याउने अर्को स्रोत छैन, छेउको कालीगण्डकी नदीबाट गिट्टीबालुवा उत्खनन गर्न सर्वोच्चको आदेशले बाधा पुर्याउँदा आयोजनाको काम थप प्रभावित बन्दैछ ।’
आयोजनाले टनेल पूरा भएका प्याकेजमा कंक्रिट लाईनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्वाइन राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु भइरहेको जनाएको छ । आयोजनाले रिभर डाईभर्सन र पावरहाउस भित्रको डिष्टिब्युटर्स पाइपको हाईड्रोस्टिक प्रेसर टेष्टिङ पनि सफल भएको जनाएको छ । पावरहाउसमा रहने दुई वटा टर्वाइनहरु घुमाउन ६ वटा नोडल भएको वितरण पाइप परीक्षण गरिएको हो । त्यस्तै पावरहाउसदेखि सर्साफसम्म ८ सय ११ मिटर स्लोप र १ सय ९६ मिटर भर्टिकल टनेलमा पेनस्टक पाइप राख्ने काम पनि सुरु भएको छ ।
आयोजना निर्माण गरिरहेको रघुगंगा हाईड्रो लिमिटेडले सर्वोच्च अदालतको कालीगण्डकी नदीको नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदा नदीजन्य पदार्थ (मेट्रियल) समस्या झेल्दै आएकोमा आयोजनाले यस वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘बैंक ग्यारेन्टी’को भरमा विदेशबाट उपकरणहरु ल्याउन नमिल्ने भनी गरेको पचात्रारले भारतबाट ल्याउने पर्ने आयोजनाको उपकरण ल्याउन समस्या भएको बताएको छ । लिमिटेडले आर्थिक ऐनमा बैंक ग्यारेन्टीको भरमा विदेशबाट उपकरण ल्याउन पाउने व्यवस्था भएको दाबी गरेको छ ।
प्रतिक्रिया