कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४ हजारभन्दा धेरै महिला सहभागी हुँदा ‘जुम एप’ नै अवरुद्ध
अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक फेरिएको छ । बाइडेनले गत आइतबार राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको घोषणा गर्दै ४ वर्षयता आफ्नो उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने बताएपछि माहोल तातिएको हो ।
अघिल्लो सातासम्म चर्चाको केन्द्रमा नरहेकी कमलाले यो एक सातामा निर्वाचन अभियान घोषणा गर्नेदेखि अलग–अलग स्थानमा भाषण दिने, परम्परागत डेमोक्य्राट र सेलेब्रिटीबाट समर्थन जुटाउनेसम्ममा सक्रियता बढाएकी छन् । उनले ट्रम्पलाई चुनावी बहसका लागि चुनौती दिन पनि सुरु गरेकी छन् । ट्रम्पमाथिको आक्रमणले रिपब्लिकन उम्मेदवारका पक्षमा जालाजस्तो देखिएको राजनीतिक खेल अहिले कमला र उनका गतिविधि वरिपरि केन्द्रित भएको छ ।
यो माहोलको राजनीतिक पक्षमात्रै छैन, कमलाको चुनावी अभियानले एकै सातामा दसौं लाख अमेरिकी डलर चन्दा प्राप्त गरेकी छन्, सामाजिक सञ्जालसँगै चुनावी सर्वेक्षणमा पनि उनी बलियो बन्दै गएकी छन् । सञ्चारमाध्यममा आएका जानकारीलाई आधार मान्ने हो भने कमलाले बाइडेन पछि हटेकै दिन झन्डै ८१ मिलियन र ३६ घण्टाभित्र सय मिलियन अमेरिकी डलर चन्दा जुटाउन सफल भएकी थिइन् । डेमोक्य्राट नेसनल कमिटी तथा फन्डरेजिङ कमिटीहरूका अनुसार २४ घण्टामा संकलन भएको यो रकम अमेरिकी चुनाव इतिहासमै सबैभन्दा ठूलो रकम हो ।
डेमोक्रेटिक पार्टीले कमलाको उम्मेदवारीको टुंगो लगाउन भने बाँकी छ । अर्को महिना (अगस्ट) मा सिकागोमा हुने पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ । आधिकारिक घोषणा नभए पनि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुने पक्कापक्की जस्तै भएकी कमलाले बाइडेनसँगै बर्नी स्यान्डर्स, नान्सी पेलोसी, अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, एलिजाबेथ वारेन, हिलारी क्लिन्टनसँगै पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेलको पनि समर्थन प्राप्त गरिसकेकी छन् । जर्ज क्लुनी, जोन लेजेन्ड, बियोन्से, कार्डी बी, एरियाना ग्रान्डेजस्ता हलिउड सेलेब्रिटीहरूले समेत कमलालाई समर्थन र सहयोगको घोषणा गरेपछि उनको निर्वाचन अभियानमा सुरुका केही दिन प्रतिमिनेट २० हजार अमेरिकी डलरको दरले चन्दा संकलन भएको न्युजविकले उल्लेख गरेको छ ।
प्रतिक्रिया