रूपन्देही प्रहरीले छविलाल जोशीसँग साढे ७ घण्टा लामो बयान लियो 

 रूपन्देही प्रहरीले छविलाल जोशीसँग साढे ७ घण्टा लामो बयान लियो 

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, कात्तिक ६, २०८१

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व(डिआइजी छविलाल जोशीसँग जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले साढे सात घण्टा बयान लिएको छ।

पक्राउ परेका जोशीको नाम रूपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि जोडिएका कारण बयानका लागि यहाँ ल्याइएको थियो।

संसदीय छानबिन समितिको सिफारिस तथा सहकारी पीडितहरूको उजुरीपछि जोशीलाई गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो। जोशीलाई सोमबार अपराह्न सरकारी वकिलको कार्यालय भैरहवामा उपस्थित गराएपछि समय अभावका कारण मंगलबार बयान लिइएको हो।

‘बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म उहाँसँग बयान लिएर सकिएको छ, अहिलेको लागि बयान लिने काम सकेर उहाँलाई फिर्ता पठाइएका छौं,’ जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले भने।

जोशीको बयान सकिएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको प्रहरीले जनाएको छ। यस्तै, उनलाई बुधबार पोखरा पठाइने जनाइएको छ।

न्यायाधिवक्ता पौडेलका अनुसार जोशीलाई ५७ वटा प्रश्न सोधिएको थियो। हामीले जसरी सोध्यौं, उहाँले सहजै जवाफ दिनुभयो,’ पौडेलले भने। उनले के जवाफ दिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हुँदा भन्न नमिल्ने बताए।

जोशीलाई जिल्ला न्यायाधिवक्ता पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरी अधिकृतहरूले बयान लिएका थिए।

पूर्व–गृहमन्त्री रवि लामिछाने र संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईबारे बयानमा जोशीले के भने भन्नेबारे पत्रकारहरूको जिज्ञासामा उनले अहिले केही खुलाउन नमिल्ने बताए।सरकारी वकिलको कार्यालयमा जोशीको बयान चलिरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालत अगाडि दिनभर विरोध प्रदर्शन गरेका थिए।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको बताए।

जोशी गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष रहेका बखत सूर्यदर्शन र सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियामा लगिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सुप्रिम सहकारीबाट गोर्खा मिडियामा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ अवैधानिक रूपमा लगिएको तथ्य बाहिर ल्याएको थियो।

प्रहरीका अनुसार सुप्रिम सहकारीमा १० हजार ३९१ जना सर्वसाधारणको ७८ करोड बढी बचत रकम अपचलन भएको छ। सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरूद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गुरूङसहित केही पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही अझै फरार छन्।