शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुटवल, पुस २४, २०८१

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी –दुम्किवास–दाउन्ने सडक खण्डमा पछिल्लो दुई दिनदेखि परेको शीतलहरका कारण यातायाता अवरूद्ध भएको छ।

मंगलबार रातिदेखि शीतलहरका कारण निर्माणधीन अवस्थाको धुलाम्मे सडक हिलाम्मे भएपछि सवारी साधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ।

हिलो र चिप्लो सडकका कारण सवारी साधन चल्न नसकेको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

कार्यालयका अनुसार मंगलबार राती साढे १२ बजेदेखि पूर्वतर्फ जाने र पश्चिमतर्फ आउने दुबै तर्फका सवारी साधन सडकमा रोकिएका छन्।

शीतलहरका कारण सडकमा चिप्लिने अवस्था भएपछि दाउन्नेबाट पुर्वतर्फ जाने सवारी साधनलाई बाटोमै रोकेर राखिएको लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।

दाउन्नेमा रोकिएका पश्चिमतर्फ आउने सवारीसाधनलाई पनि बिहान ७ बजेदेखि पठाउन थालिएको उनले बताए।

‘शीतलहरले सडक चिप्लो बनेको छ, सडक प्रयोगकर्ताहरुलाई सावधानीसहित सवारी चलाउन आग्रह गरेका छौं, अहिले पूर्वतर्फबाट पश्चिम जाने सवारी साधनहरु सञ्चालनमा आएको भएपनि पश्चिमबाट पूर्व जाने सवारी साधनहरु दाउन्नेमा अड्किएका छन्,’ उनले भने।

उनका अनुसार दाउन्नेबाट पूर्वतर्फ ओरालो लागेपछि शीतलहर अत्यधिक भएको र ओरालो सडकमा दुर्घटनाको जोखिम भएपछि सवारी साधनलाई गुड्न रोक लगाइएको हो।