शिक्षकहरु आन्दोलनमा, के–के थिए माग ? एसईईको उत्तरपुस्तिका के हुन्छ ?

शिक्षकहरु आन्दोलनमा, के–के थिए माग ? एसईईको उत्तरपुस्तिका के हुन्छ ?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, चैत २२, २०८१
काठमाडौं । काठमाडौंका सडकमा देशभरका शिक्षकहरु बुधबार (चैत २०) देखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूको एकसुत्रीय माग छ– शिक्षा ऐन तत्काल जारी गर्नुपर्‍यो ।

आन्दोलनरत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बिहान वार्तामा बोलाएको पनि उनीहरू वार्तामा नजाने अडानमा लिएकाछन् ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईलगायत विभिन्न दलका नेतासँगको बिहीबार साँझ सिंहदरबारमा भएको छलफलपछि गृहमन्त्री लेखकले शिक्षकका मागलाई सम्बोधन हुने गरी विधेयक अघि बढाउने बताएका थिए ।

विधेयक संसद्‌मा विचाराधीन रहे पनि यसलाई समयमा नै अघि बढाउन सरकारले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनका अनुसार, बैठकले शिक्षकले उठाएका विषय निकै गम्भीर रहेकाले यस विषयमा पुनः छलफल गरी ठोस निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

शिक्षकहरू भने यसअघि आफूसँग भएका सहमति कार्यान्वयन गर्न ऐन जारी गर्नुपर्ने आफूहरूको स्पष्ट माग रहेकाले वार्ताको औचित्य नरहेको बताउँछन् ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन गर्दै ऐन जारी गर्ने प्रत्याभूति नभएसम्म सडकबाट नफर्किने अडान लिएको छ । “हामी वार्तामा जाँदैनौँ, त्यो जरुरी पनि छैन । हामी शिक्षा विधेयकलाई ऐनको रूप दिन सरकारलाई सुझाव दिन्छौँ,” महांसघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

अध्यादेशमार्फत वा विशेष अधिवेशन डाकेर विधेयक अघि बढाउने सन्दर्भमा भने छलफलका लागि जाने शिक्षकहरूको मनशाय छ ।

एसईईको उत्तरपुस्तिका के हुन्छ ?
विद्यालयस्तरको शैक्षिकसत्र सकिएसँगै देशभरका विद्यालय बिदामा छन् । यही अवधिमा देशभरका शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

तर, यही चैत १९ गते सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका जाँचका काम बढाउनुपर्नेछ । एसईईको उत्तरपुस्तिका जाँच्न र समयमै नतिजा निकाल्ने वातावरणका निम्ति सरकारले शिक्षा ऐन तत्काल जारी गर्ने प्रक्रिया अघि बढाउनुपर्ने राहत शिक्षक संघको जोड छ ।

“हामी गैरजिम्मेवार बनेका छैनौँ । तर, एसईईको नतिजा समयमै निकाल्ने हो भने सरकारले कुनै पनि विकल्प लिएर शिक्षा ऐन तत्काल जारी गर्ने वातावरण बनाओस्,” संघका केन्द्रीय अध्यक्ष नवीनसिंह धामी भन्छन् ।

शिक्षकहरूसँग पटकपटक सम्झौता हुँदै कार्यान्वयन नहुने नियति दोहोरिएकाले ठोस समाधान ननिस्किएसम्म सडकबाट नफर्किने उनको भनाइ छ ।