शुक्रबार, भदौ ५, २०८३
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा निवासमै पुगेर कोइरालाले भेट गरेका हुन् ।
कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार, भेटमा कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवाद र पार्टी एकताका विषयमा छलफल भएको थियो ।
थपलियाका अनुसार, दुवै नेता पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा देखिएका छन् । तर, पार्टी मिलाउने विषयमा उनीहरूको मात्र पहल पर्याप्त नहुने उनको भनाइ छ ।
“दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ । तर, मिल्ने–मिलाउने उहाँहरूको हातमा छैन । बल त सभापति गगन थापाको हातमा छ । उहाँले पहल गर्नुपर्यो,” थपलियाले बाह्रखरीसँग भने ।
भेटका क्रममा पूर्वसभापति देउवाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्ने विषयमा सकारात्मक सन्देश दिएको पनि थपलियाले बताए । कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच पछिल्लो समय देखिएको विवादका बीच कोइराला र देउवाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया