असोज १९, २०८३
काठमाडौं । सोमबार उपभोक्ता हित समितिको बैठकमा, ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बताएका छन् ।
सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले अन्तर्राष्ट्रिय द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताए ।
साहले युक्रेन–रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको तर्क गरे ।
रुस–युक्रेन तथा इरान–अमेरिका द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा देखिएको अस्थिरताले नेपालजस्तो मुलुकमा गम्भीर असर पारेको उनको भनाइ छ ।
आपूर्ति व्यवस्थालाई सहज बनाउन सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ । मन्त्री साहले कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रमा हुने रैथाने बालीको प्रवर्धन गर्न जरुरी रहेको बताए ।
उनले जनतालाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठेर ‘स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ’ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।
यस्तो छ मन्त्री साहको भनाइः
ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले बाह्य निर्भरता मात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ । ब्रिकेट, विद्युत् तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिन्छ । त्यसैगरी, आयातित चामलमा निर्भर हुनुको सट्टा स्थानीय स्तरमा मकै, फापर, कोदो, सिमीलगायत कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण छ । जनतालाई समस्या मात्र होइन, स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे पनि जानकारी गराउँदै आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया