गृहमन्त्रीले माफी माग्नुपर्ने अधिकारकर्मीहरूको दाबी

गृहमन्त्रीले माफी माग्नुपर्ने अधिकारकर्मीहरूको दाबी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बिहीबार, भदौ २५, २०८३

काठमाडौं । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले यही भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको जनाएका छन् । गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा अधिकारकर्मीको अडान रहेको छ ।

“उक्त अभिव्यक्तिमध्ये पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति हामी खेद व्यक्त गर्दछौँ,” उनीहरूले भनेका छन् ।

देशमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेका र विपद् व्यवस्थापनको अभिभारा बोकेका गृहमन्त्रीका ‘अराजक’ शैली र वचनले बेलाबखत मुलुकको शासनप्रणालीको वजन नै घटाएको उनीहरूको ठहर छ ।

“गृहमन्त्री चयन तथा उनीमाथि लागेका आरोपमा गरिएको ‘अनुसन्धान’ हामीले शंकाको घेराभित्रै राखेको सन्दर्भमा आमपत्रकारमाथिको गुरुङको आक्रामक टिप्पणीले उनले आफू जिम्मेवारीमा रहेको पद र ओहोदाको मर्यादा, संयम र गाम्भीर्य नबुझेको हाम्रो अनुभूति छ,” विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारको दायित्व राज्यसंयन्त्रमा जिम्मेवारी वहन गरेकामाथि प्रश्न गर्नु र उनीहरूलाई जवाफदेही बनाउनु रहेको उनीहरूले उल्लेख गरेका छन् । “जुन दायित्व सञ्चारजगत्ले पञ्चायतकालदेखि नै अनेक कठिनाइ, चुनौती र धाकधम्कीमाझ आफ्नो कर्तव्य पूरा गर्दै आएको छ,” अधिकारकर्मीले भनेका छन्, “फलतः नेपालमा लोकतन्त्र अडेको छ, सुशासनको आधार बनेको छ र भ्रष्टाचार उदांग पार्नमा सहयोग पुगेको छ ।”

विगतमा विभिन्न अप्ठ्यारो परिस्थितिबीच सञ्चारजगत्ले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको पनि उनीहरूले स्मरण गरेका छन् ।“नेपालका पत्रकारहरूले अधिनायकवादी शैली अपनाउने राज्य सञ्चालकहरू यसअघि पनि भोगेका छन् भने समाचार सम्प्रेषणका लागि यस्ता शासकहरूको सामना पनि गरेका छन्,” उनीहरूले भनेका छन्, “साथै, सञ्चारकर्मीहरूले डर, त्रास र धम्कीका सामु पछि नहटी आमनागरिकहरूलाई सुसूचित गरिरहेका छन् ।”

जिम्मेवार पत्रकारले आफ्नो आचारसंहिताविपरीत बिनाआधार र प्रमाण कसैका बारेमा समाचार सम्प्रेषण र प्रवाह गर्नु नहुने पनि उनीहरूले बताएका छन् । “विगतमा सुनकाण्ड, नक्कली शरणार्थीकाण्ड, सहकारीकाण्डजस्ता अनगिन्ती काण्डमा सत्यतथ्य उजागर गर्ने कार्यमा पछि नहटेका पत्रकारहरू गृहमन्त्रीको धम्कीपूर्ण बोलीबाट हतोत्साही हुने छैनन् भन्नेमा हामी विश्वस्त छौँ,” विज्ञप्तिमा भनिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, दिनेश त्रिपाठी, श्यामकुमारी साह, सोम निरौला, सुबोध प्याकुरेल र अभिषेक अधिकारी छन् ।