के गरिबले आमा बन्ने अधिकार गुमाइसकेको हो ?
अस्पतालले भर्ना नलिएपछि सडकमै जन्मियो बच्चा, छानबिन गर्न माग
बिहीबार, भदौ २५, २०८३
काठमाडौं । सप्तरीको राजविजारस्थित गजेन्द्र नारायण सिंह अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकमै बच्चा जन्माएकी छन् ।
प्रतिनिधिसभा सांसद खगेन्द्र कर्णका अनुसार राजविराज १४ स्थित पर्साही टोलका हरेराम चौधरीकी श्रीमती बविता पासवानले अस्पतालको गेटबाहिर बच्चा जन्माएकी हुन् ।
अस्पताल प्रशासनले तीन हजार दुई सयको बिल काट्न भनेको र पैसा नपुग्ने बताएपछि अस्पताल प्रशासनले उपचार गर्न आनकानी गरेको उनको भनाइ छ ।
“महिला प्रसव पीडामा थिइन्, बच्चाको जन्म अस्पताल कम्पाउन्ड बाहिर नै भएको थियो,” उनले भने ।
सांसद कर्णले त्यसघटनाबारे सदनमा जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई आग्रह गरे ।
सांसद अंकिता ठाकुरले घटना राति २ बजेको भएको बताइन् । उनले अस्पताल सौदाबाजीको पसल बनेको भन्दै आपत्ति जनाइन् । पैसा नहुने गरिबले आमा बन्ने र बच्चा जन्माउने अधिकार गुमाइसकेको हो भन्दै उनले प्रश्न गरिन् ।
ठाकुरले सडकमा नै बच्चा जन्माउन बाध्य भएको घटनबारे छानबिनको माग गरिन् । उनले घटनाको छानबिन गरी बाहिर ल्याउन आग्रह गरिन् ।
प्रतिक्रिया