आइतबार, असोज १८, २०८३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।
नेकपा वाग्मती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको बताए । “एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ,” प्रचण्डले भने ।
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल गरे । सरकारका गलत नीति–निर्णयका विरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै उनले विस्तारै अब सडकमा गएर सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । “सडकमा गएर खबरदारी नगरिकन अहिले देखापरेको प्रतिक्रान्तिको हावालाई रोक्न सकिँदैन” प्रचण्डको भनाइ छ ।
त्यस्तै, प्रचण्डले प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मंसिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएको बताए । यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने उनको भनाइ छ ।
उनले दुईमहिने अभियान अन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए ।
प्रतिक्रिया