१९ असोज २०८३
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्द सत्र औपचारिक रूपमा सुरु भएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्द सत्रमा पेस गरिने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा छलफल प्रक्रिया अघि बढेको हो।
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन भूगोलका आधारमा तीन ओटा क्लस्टर (पहाड, हिमाल र मधेस–तराई) मा विभाजन गरी बन्द सत्र सञ्चालन गरिएको छ। जसअनुसार प्रारम्भमा पहाड क्लस्टरको बन्द सत्र सुरु भएको छ।
सहभागी प्रतिनिधिहरूलाई प्रदेश र क्षेत्रगत आधारमा तीन ओटा अलग–अलग हलमा विभाजन गरिएको छः
हिमाल हलः कोशी प्रदेशका १,११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी कुल २,३३१ जना प्रतिनिधि सहभागी छन्।
पहाड हल: बागमती प्रदेशका १,२१७ र लुम्बिनी प्रदेशका १,००९ गरी कुल २,२२६ जना प्रतिनिधि सहभागी छन्।
तराई–मधेस हलःमधेश प्रदेशका १,२५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ तथा शुभेच्छुक संगठनका २२५ गरी कुल २,३७६ जना प्रतिनिधि सहभागी छन्।


यस बन्द सत्रमा पार्टी सभापति गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्रीद्वारा पेस गरिएको विधान संशोधन तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापतिद्वारा ल्याइएको समसामयिक राजनीतिक प्रस्तावमाथि गहन छलफल हुने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया