इरानले अमेरिकी आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने घोषणा

इरानले अमेरिकी आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने घोषणा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

भदौ ९ २०८३
काठमाण्डौं । अमेरिकाले इरानको अर्थतन्त्र तहसनहस पार्ने भनी घोषणा गरेको व्यापक आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने इरानले घोषणा गरेको छ।

साथै अमेरिकाले सुरू गरेको दबाब अभियानलाई इरानका मुख्य व्यापारिक साझेदारहरूले प्रतिरोध गर्नेछन् भन्ने विश्वास पनि इरानले व्यक्त गरेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार नयाँ आर्थिक नाकाबन्दी सार्वजनिक गर्दा सबैभन्दा कडा प्रतिबन्धहरू भने नलगाएको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। तर पनि इरानसँग व्यापार जारी राख्ने देशहरू डलरमा आधारित वित्तीय प्रणालीबाट बाहिरिनुपर्ने जोखिममा पर्ने भने उनले चेतावनी दिएका छन्।

बेसेन्टले इरानसँग व्यापार जारी राख्ने कुन देशहरूलाई अमेरिकाले लक्षित गर्ने हो वा ती देशहरूलाई अमेरिकी कारवाही कहिलेदेखि लागू हुने भन्ने चाहिँ खुलाएनन्।

नयाँ निर्देशनको पालना गर्न ती देशहरूलाई समय दिने उनले बताए।

अमेरिकाले सोमबार ६० जना व्यक्ति, संस्था र जहाजहरूमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्‍यो। तर उक्त सूचीमा इरानको तेल व्यापारलाई सहयोग पुर्‍याएको आशंका गरिएका कुनै पनि चिनियाँ वित्तीय संस्थाहरू भने समावेश छैनन्।

सो घोषणाअघि इरानले कुनै पनि अमेरिकी आर्थिक प्रतिबन्धको जबाफमा सम्भावित सैन्य प्रतिक्रिया र खाडी क्षेत्रबाट तेल निर्यातमा थप कटौती गर्ने धम्की दिएको थियो। अमेरिकी घोषणापछि इरानका अर्थमन्त्री अली मदानीजादेहले इरान अमेरिकी प्रतिबन्धहरूका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

‘स्वाभाविक रूपमा, शत्रुहरूले हामीमाथि आर्थिक आतंकवादी आक्रमण गर्ने योजना बनाएका छन्। तर हामीसँग पनि आफ्नै साधनहरू छन् र खेल कसरी खेल्ने भन्ने हामीलाई थाहा छ। हाम्रो रक्षा अब त्यति रक्षात्मक मात्र छैनस शत्रुहरूले अब आक्रमणको प्रतीक्षा गर्नुपर्छ,’ मदानीजादेहले इरानको सरकारी टेलिभिजनलाई भने।

उनले चीन वा रूस कसैले पनि अमेरिकी प्रतिबन्धलाई स्वीकार नगरेको भन्दै अन्य देशहरूले पनि ती प्रतिबन्धहरूको प्रतिकार गर्ने भविष्यवाणी गरे।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने कडा आर्थिक नाकाबन्दीमा सहयोग नगर्न इरानले छिमेकी मुलुकहरूलाई चेतावनी दिएको थियो।

इरानलाई सहयोग गर्ने वा ऊसँग व्यापार गर्ने देशमाथि आर्थिक कारबाही गर्ने अमेरिकी योजना बारे टिप्पणी गर्दै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ प्रमुख मोहसेन रेजाईले आफ्नो अर्थतन्त्रमाथि दबाब दिने अमेरिकाको नयाँ प्रयासमा सहभागी नहुन छिमेकी देशहरूलाई चेतावनी दिएका थिए।

इरानको सरकारी टेलिभिजनसँग कुरा गर्दै त्यस्तो अमेरिकी प्रयासमा सहभागी भए स्ट्रेट अफ हर्मुज छलेर खाडी क्षेत्रबाट बाहिरिने तेल ढुवानीका वैकल्पिक मार्गहरूमा पनि आक्रमण गर्ने रेजाईले चेतावनी दिएका थिए।

सन् १९८०/८८ सम्म भएको इराकसँगको युद्धको अधिकांश समय इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका कमाण्डर-इन-चिफ रहेका रेजाईले जारी युद्धमा इरानसँग अझै धेरै विकल्पहरू बाँकी रहेको पनि दाबी गरेका थिए।
हामीले अहिलेसम्म कुनै पनि अमेरिकी आर्थिक स्वार्थमाथि आक्रमण गरेका छैनौं। अहिलेसम्म हामीले केवल सैन्य बेसहरूलाई मात्र निशाना बनाएका छौं, तर यदि उनीहरू हामीमाथि आर्थिक प्रतिबन्ध लगाउन चाहन्छन् भने, इरान वरपर र अन्य ठाउँमा अमेरिकाका तेल तथा आर्थिक कम्पनीहरू छन्, र हामी तिनीहरूमाथि प्रहार गर्नेछौं, शनिबार प्रसारित अन्तर्वार्तामा रेजाईले भनेका थिए।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोग