मन्त्री यादवको अभिव्यक्तिप्रति ग्यास उद्योगीको आपत्ति

मन्त्री यादवको अभिव्यक्तिप्रति ग्यास उद्योगीको आपत्ति

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, भदौ २५, २०८३

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको एउटा अभिव्यक्तिप्रति एलपी ग्यास उद्योग संघ नेपालले आपति जनाएको छ ।

बुधबार (भदौ २४) बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । विषम परिस्थितिमा उद्योगीलक्षित अभिव्यक्तिले व्यवसायीलाई निराश बनाएको संघले बिहीबार (भदौ २५) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले पाँच दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको जनाएको छ । प्राकृतिक विपत्तिको समयमा के कसरी ग्यास आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन सकिन्छ भनेर उद्योगी अहोरात्र खटेका संघको भनाइ छ ।

मन्त्री अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहनुपर्नेमा अमर्यादित तथा अशोभनीय अभिव्यक्ति दिएको संघले जनाएको छ । “।।।हालको विषम परिस्थितिमा अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्तिले समस्याको समाधान नहुने हुँदा हामीले निर्मम भएर वस्तुनिष्ठ समीक्षा गर्न सक्नुपर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विषम परिस्थितिमा कुनै उद्योगबाट बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही गर्न पनि संघले आग्रह गरेको छ ।

तर, बिनाप्रमाण ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको संघले जनाएको छ ।