नेपालमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक

नेपालमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज ११, २०८३

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा १४९.७ सीसीको एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, यो नेपालमा सार्वजनिक गरिएको पहिलो हाइपर स्पोर्ट स्कुटर हो । यसको प्रारम्भिक मूल्य तीन लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एनटर्क १५० मा १४९.७ सीसी एयरकुल्ड ओथ्रीसीटेक इन्जिन छ, जसले सात हजार आरपीएममा १३.२ पीएस शक्ति र पाँच हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ । स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने तथा अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

स्टिल्थ विमानबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडाइनामिक विङलेट्स, स्पोर्टी टेल ल्याम्प, नेकेड ह्यान्डलबार, रंगीन एलोय ह्विल तथा सिग्नेचर मफलर दिइएको छ । यसमा टीभीएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन् । टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिम पार्किङ स्थान, कल तथा सन्देश सूचना र राइड मोडलगायत सुविधा रहेका छन् ।

सुरक्षातर्फ सिंगल च्यानल एबीएस र सेग्मेन्टमै पहिलो ट्रयाक्सन कन्ट्रोल रहेको कम्पनीले जनाएको छ । हाजार्ड ल्याम्प र फलो–मी हेडलाम्पसँगै टेलिस्कोपिक सस्पेन्सन, समायोजन गर्न मिल्ने ब्रेक लेभर, ईजी सेन्टर स्ट्यान्ड र २२ लिटरको सिटमुनिको भण्डारण क्षमता दिइएको छ ।

काठमाडौंको नक्सालमा आयोजित सार्वजनिक कार्यक्रममा टीभीएस मोटर कम्पनीका प्रतिनिधि, जगदम्बा मोटर्सका पदाधिकारी, सञ्चारकर्मी, सामग्री निर्माता, डिलर तथा अन्य सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी सामग्री निर्माता सहभागी भएको कम्पनीले जनाएको छ ।

एनटर्क १५० स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ । स्कुटर नेपालभरका जगदम्बा मोटर्सका आधिकारिक डिलरबाट बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।