असोज १३, २०८३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्र हुने दाबी गरेका छन् । मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले चुनावी तालमेल भने हुन सक्ने बताए ।
“अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन,” ओलीले भने ।
त्यस्तै, ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने बताए ।
नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न र कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिए । “अब नेता–कार्यकर्ताको मूल्यांकन जेष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,” ओलीले भने, “आफूलाई बदल्नुहोस्, शालिनता र विनम्रता सिक्नुहोस् । देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ, त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस् ।”
केन्द्रीय कमिटीले गरेको डिजिटल अभिलेख र संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन निर्देशन पनि दिए । उनले पार्टीमा अराजकता फैलाउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया