असोज १६, २०८३
काठमाडौं । सांसद कमला पन्तले राष्ट्रियसभाले मुलुकको प्रधानमन्त्रीलाई चिन्न नपाएको टिप्पणी गरेकी छन् ।
राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलकी नेतासमेत रहेकी पन्तले यो अधिवेशनको अन्तिम बैठकमा राष्ट्रियसभामा दलीय अधारमा धारणा राखिन् । नीति तथा कार्यक्रम टेबुल गर्नेबाहेक प्रधानमन्त्रीले राष्ट्रियसभामा पाइला नटेकेको उनले बताइन् ।
“हाम्रो प्रधानमन्त्री कस्तो हुनुहुन्छ, कस्तो रङको कपडा लगाउनुहुन्छ? देशको प्रधानमन्त्रीलाई राष्ट्रियसभाले चिन्न पाएको छैन,” पन्तले भनिन्, “संघीय संसद्लाई यो स्तरको बेवास्ता गर्ने प्रधानमन्त्रीको बुझाइ के हो भनेर पनि राष्ट्रियसभाले देख्न, बुझ्न पाएन ।”
राष्ट्रियसभाले सदासयता देखाएको उनको भनाइ छ । “राष्ट्रियसभाले सरकारको नीति तथा कार्यक्रम पारित नगर्न सक्थ्यो । सरकारले ल्याएको बजेट अस्वीकार गर्न सक्थ्यो । तर, यो सभाले सदासयतापूर्वक पारित गरेर सरकारप्रति सद्भाव र सदासयता देखाएको छ,” पन्तले भनिन् ।
उनले सरकारले राष्ट्रियसभाले देखाइरहेको सदासयतालाई कमजोरीका रूपमा ग्रहण गरेको बताइन् ।
“आज पनि हामीले विधेयक पारित गरेर सरकारलाई सहयोग गरेका छौँ । सकारात्मक काममा सहकार्य गरौँ हामी साथ र सहयोग गर्छौं भन्यौँ, उनले भनिन्, तर, सरकारले यसलाई कमजोरीका रूपमा बुझिरहेको हो कि भन्ने भान भएको छ ।”
प्रतिक्रिया