महिलामाथि ‘मानसिक भार’ किन पर्छ बढी?

महिलामाथि ‘मानसिक भार’ किन पर्छ बढी?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२२ भदौ २०८३

काठमाडौँ । घरपरिवार चलाउनुपर्ने काम भनेपछि सामान्यतयाः खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने वा बच्चाको हेरचाह गर्ने जस्ता प्रत्यक्ष देखिने काम सम्झिन्छौँ । तर, परिवारको दैनिक जीवनलाई व्यवस्थित राख्न त्यसअघि नै गर्नुपर्ने अर्को ठुलो काम हुन्छ । त्यो हो योजना बनाउने, सम्झिरहने, अनुमान गर्ने र सही समयमा सही निर्णय लिने ।

यही अदृश्य जिम्मेवारीलाई पछिल्लो समय ‘मानसिक भार’ अर्थात् मेन्टल लोड भनेर चर्चा गर्न थालिएको छ । बेलायतको स्टकपोर्टकी तीन सन्तानकी आमा स्टेसी म्याथियसका लागि यो अनुभव दैनिक जीवनको अभिन्न हिस्सा हो । उनी भन्छिन्, उनको दिमागमा सधैँ गर्नुपर्ने कामहरूको सूची चलिरहेको हुन्छ र राति सुत्न जाँदा पनि अर्को दिनका जिम्मेवारीबारे सोचिरहेकी हुन्छिन् ।

विद्यालय कहिले खुल्छ र? बच्चाको विद्यालयमा कुनै कार्यक्रम छ कि छैन रु?अभिभावकको ह्वाट्सएप समूहमा नयाँ सूचना आएको छ कि छैन र? घरमा कुन सामान सकिँदै छ र? बच्चाको स्वास्थ्य जाँच कहिले गर्ने र? विद्यालयका लागि नयाँ पोसाक कहिले किन्नुपर्छ र?

यी काम आफैंमा ठुलो नदेखिए पनि तिनलाई निरन्तर सम्झिरहनु र समयमै पूरा गराउनु मानसिक रूपमा थकाउने काम हुन सक्छ ।

आमाहरूले सम्हाल्छन् ७१ प्रतिशत मानसिक काम

अमेरिकाका ३ हजार अभिभावक सहभागी सर्वेक्षणमा युनिभर्सिटी अफ बाथ र युनिभर्सिटी अफ मेलबर्नका अनुसन्धानकर्ताहरूले आमाहरूले मानसिक प्रयास आवश्यक पर्ने घरायसी काममध्ये ७१ प्रतिशत सम्हाल्ने गरेको पाएका थिए ।

अनुसन्धानमा तन्दा, सिरकका खोल र तौलिया कहिले धुने, फ्रिजमा रहेको खाना कहिलेसम्म प्रयोग गर्नुपर्छ भन्ने सम्झनेलगायतका काम पनि मानसिक श्रमका रूपमा समेटिएका थिए ।

यसको विपरीत, बुबाहरूले तुलनात्मक रूपमा कम पटक हुने वा ‘एपिसोडिक’ काम बढी सम्हाल्ने गरेको अध्ययनले देखाएको थियो । उदाहरणका लागि, कारको सर्भिस कहिले गर्ने भन्ने सम्झनु यस्तो काममा पर्छ ।

युनिभर्सिटी अफ मेलबर्नकी प्राध्यापक लेह रुपानेरका अनुसार मानसिक भार अदृश्य, निरन्तर र सीमाविहीन हुन्छ । घरको भौतिक काम घरमै छोड्न सकिए पनि मानसिक भार भने व्यक्तिसँगै काम गर्ने ठाउँसम्म पुग्न सक्छ ।

‘तिमीले के गर्नुपर्छ भन न’

धेरै दम्पतीमा एउटा सामान्य अवस्था देखिन्छ, एक जनाले अर्को जनालाई सहयोग गर्न खोज्दै सोध्छ, ‘म के गरौँ ?’ भन्न । तर मानसिक भारको कुरा गर्ने महिलाहरूका लागि यही प्रश्न आफैँमा अर्को जिम्मेवारी बन्न सक्छ ।

तीन सन्तानकी आमा सोफिया बताउँछिन्, विद्यालयका कार्यक्रमको शुल्क तिर्नेदेखि बच्चाको खाना अर्डर गर्नेसम्मका काम उनी आफैँले मोबाइलबाट गर्छिन् । उनका श्रीमान्ले भने विद्यालयको एपसमेत डाउनलोड गरेका छैनन् ।

उनका अनुसार कुनै काम पाँच मिनेटमै सकिने भए पनि त्यसअघि त्यो काम सम्झनु, कहिले गर्नुपर्छ भनेर थाहा पाउनु र त्यसको तयारी गर्नु आवश्यक हुन्छ ।

यही कारणले ‘काम गरिदिनु’ र ‘कामको जिम्मेवारी लिनु’ फरक कुरा भएको उनीहरूको अनुभव छ । लन्डनका दुई सन्तानका बुबा साम बेरीले पनि सुरुमा मानसिक भारको अवधारणा बुझ्न कठिन भएको बताएका छन् । बच्चा जन्मिएपछि उनले डायपर फेर्ने, बच्चालाई खाना खुवाउनेलगायत धेरै काम गरेको भए पनि उनकी श्रीमतीले उठाएको प्रश्नको अर्थ पछि मात्र बुझे ।

उदाहरणका लागि, खाना पकाउनु भनेको केवल चुलोमा खाना बनाउनु होइन । घरमा के छ भनेर हेर्नु, के पकाउने निर्णय गर्नु, आवश्यक सामान किन्नु र त्यसपछि खाना बनाउनु पनि त्यसैको हिस्सा हो ।

मानसिक भारले स्वास्थ्य र करियरमा असर

क्लिनिकल मनोवैज्ञानिक नतासा वालेसका अनुसार महिलाहरूले ठुलो एउटै समस्याभन्दा पनि सयौँ साना जिम्मेवारीका कारण तनाव अनुभव गरिरहेका हुन्छन् । उनीहरूलाई आफ्नो मस्तिष्क र शरीरलाई पूर्ण रूपमा ‘स्विच अफ’ गर्न कठिन हुन सक्छ ।

लगातारको यस्तो तनावले निद्रामा समस्या, चिडचिडापन र निर्णय लिँदा थकान निम्त्याउन सक्ने उनको भनाइ छ ।

यसको असर घरबाहिरको जीवनमा पनि पर्न सक्छ । अभिभावकत्वसम्बन्धी विज्ञ अनिता क्लियरका अनुसार घरको मानसिक र शारीरिक भार अत्यधिक हुँदा त्यसको असर काम गर्ने क्षमता र करियरमा समेत पर्न सक्छ । एउटा अध्ययनले महिलाको आम्दानी बढेपछि उनीहरूले घरको शारीरिक काम केही कम गरे पनि मानसिक कामको मात्रा भने उस्तै रहने देखाएको थियो ।

कतिपय अवस्थामा महिलाले करियरलाई ढिलो बनाउने, पार्ट टाइम काम रोज्ने वा जागिर नै छाड्ने निर्णयसमेत गर्न सक्ने विज्ञहरू बताउँछन् ।

किन महिलामाथि बढी भार ?

बीबीसीसँग कुरा गरेका केही महिलाले यस्तो असमानता बच्चा जन्मिएपछि सुरु हुने बताएका छन् । वालेसका अनुसार आमाहरूले सामान्यतया बाबुको तुलनामा लामो समय मातृत्व बिदा लिने भएकाले उनीहरू परिवारमा सुरुदेखि नै ‘डिफल्ट अभिभावक’ बन्न सक्छन् । बच्चाको बारेमा सबैभन्दा धेरै जानकारी भएको व्यक्ति जब एउटै हुन्छ, परिवारका अरू सदस्य पनि हरेक प्रश्नका लागि त्यही व्यक्तिकहाँ पुग्न थाल्छन् ।

यससँगै परम्परागत लैङ्गिक भूमिकाले पनि भूमिका खेल्न सक्छ ।

तर विशेषज्ञहरूका अनुसार समाधान हरेक कामलाई ठ्याक्कै ५०–५० प्रतिशत बाँड्नु मात्र होइन । बरु दुवै साझेदारले निश्चित जिम्मेवारीको पूर्ण स्वामित्व लिनु महत्त्वपूर्ण हुन्छ । उदाहरणका लागि, एक जनाले विद्यालयसम्बन्धी सबै प्रशासनिक काम र अर्कोले खानासम्बन्धी सम्पूर्ण जिम्मेवारी लिन सक्छ ।

मानसिक भार घटाउने उपाय

विज्ञहरूले दम्पतीलाई आफ्ना जिम्मेवारीबारे खुलेर कुरा गर्न, साझा क्यालेन्डर प्रयोग गर्न र नियमित रूपमा एकअर्कासँग छलफल गर्न सुझाव दिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूले लिएको काम पूरा गर्न बारम्बार सम्झाउनुपर्ने अवस्था नबनाउनु हो ।

कतिपय अनावश्यक जिम्मेवारी छोड्न पनि सकिन्छ । उदाहरणका लागि, बालबालिकाका साथीहरूको जन्मदिनका लागि हरेक पटक कार्ड किन्नैपर्ने हो कि होइन, वा अभिभावकको हरेक ह्वाट्सएप समूहमा सक्रिय रहन आवश्यक छ कि छैन भन्ने प्रश्न गर्न सकिन्छ ।

मानसिक भारको बहस घर सफा छ कि छैन वा बच्चाले खाना खायो कि खाएन भन्ने मात्र विषय होइन । यो परिवारको दैनिक जीवन व्यवस्थित राख्ने जिम्मेवारी कसले सोचिरहेको छ भन्ने प्रश्न पनि हो । र, धेरै महिलाका लागि समस्या यही अदृश्य जिम्मेवारीको निरन्तरतामा छस उनीहरू घरबाट बाहिर निस्किए पनि त्यो जिम्मेवारी उनीहरूको दिमागबाट बाहिर निस्कँदैन ।

बीबीसीबाट